भक्तपुर, २४ मंसिर ।
भक्तपुरमा ६ दिने अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ ।
भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उपलक्ष्यमा मंसिर २४ गतेदेखि २९ गतेसम्म चल्ने सो मेला शक्रुबारबाट भक्तपुरको सल्लाघारीमा सुरु भएको हो ।
जेडटीइ स्मार्ट फोनको प्रस्तुती र जगदम्बा स्टिलको मुख्य प्रायोजनमा सुरु भएको सो मेला भक्तपुरमा पहिलोपटक आयोजना भएको हो ।
औद्योगिक उत्पादनहरुको प्रवद्र्धन तथा नवीन सम्भावनाहरुको पहिचान र सदुपयोग भई भक्तपुर जिल्लालगायत मुलुककै आर्थिक उत्थानमा नयाँ आयाम थप्ने कार्यमा सहायकसिद्ध गर्ने उद्देश्यका साथ आयोजित उक्त मेलाको उद्घाटन उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले गरेका थिए ।
सो अवसरमा गृहमन्त्री निधीले व्यापारी वर्गका समस्या समाधान गर्नका लागि सरकार तत्पर रहेको बताए । उनले शुक्रबारबाट सुरु भएको मेलाले भक्तपुरको मात्र नभएर देशकै प्रतिष्ठा बढाउनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भक्तपुरमा मेला गर्न आवश्यक स्थान बनाउनका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।
सोही अवसरमा उनले पछिल्लो समयमा भएको संविधान संसोधन प्रस्तावले राजनीतिक दूरी बढाउँदा त्यसको असर व्यवसायमा पनि परेको बताउँदै प्रतिपक्षीले एकतर्फी रुपमा अन्य राजनीतिक दललाई उचाल्ने काम गरेको बताए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरुले सरकारलाई सहयोग गरिरहे पनि सरकारले भने व्यवसायीहरुको लागि उपयुक्त वातावरण बनाउन नसकेकोमा आपत्ती जनाएका थिए । उनले व्यापार÷व्यवसाय प्रवद्र्धनका लागि राजनीतिक स्थिरता जरुरी रहेकोले दलहरुले बन्द–हड्तालजस्ता कामलाई अन्त्य गर्नुपर्ने पनि औंल्याए ।
कार्यक्रमको उद्घाटन सत्रमा मेलाका संयोजक राजुमृगेन्द्र जोशी एवं कार्यक्रमका सभापति एवं भक्तपुर उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष कृष्णप्रसाद अवालले भक्तपुरमा भएको मेलाले जिल्लाको समग्र विकासको लागि कोशेढुंगा सावित हुने बताउँदै भक्तपुरमा मेला र प्रदर्शनी गर्न मिल्ने स्थान अभाव भएको बताए ।
मेलामा मौलिक हस्तकलाका उत्पादनहरुको प्रदर्शनी, घरेलु तथा लघु उद्यमका उत्पादनहरुको प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, कृषि उत्पादनहरुको प्रदर्शनी, दैनिक उपभोग्य तथा घरायसी सामग्रीहरुको सुपथ मुल्य पसल लगायत जिल्लाको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थलहरुको जानकारी तथा परम्परागत सा“स्कृतिक नाचगानको पनि प्रदर्शनी स्थल रहेको भक्तपुर वाणिज्य संघका महासचिव शिव मानन्धरले जानकारी दिए ।
विद्युतीय सामग्रीहरु तथा निर्माण सामग्रीहरुको समेत विशेष स्टलको व्यवस्था भएको सो मेलामा विभिन्न ब्राण्डका सवारी साधनहरुदेखि लिएर नेवारी मौलिक खानाका स्टलहरु समेत छन् ।
मेलामा आउने बालबालिकाहरुका लागि समेत बाल मनोरञ्जनका सामग्रीहरुको उपलब्धता रहेको उक्त मेलामा १ सय ७२ वटा स्टलहरु छन् । मेलामा भारत, बंगालादेश, पाकिस्तान, चीन, श्रीलंकालगायतका देशका स्टलहरु छन् ।
मेलाअन्तर्गत मंसिर २५ गते शनिबार एकदिन एनसेल डे हुनेछ । यसैगरी भक्तपुर सौन्दर्य कला व्यवसायी संघ र रोट्याक्ट क्लब अफ पाटन दरबार स्क्वायरको संयोजनमा मंसिर २७, २८ र २९ गते फेशन शो आयोजना हुने आयोजकले जनाएको छ । मंसिर २८ गते मंगलवार योमरी पुर्णिमाको दिन विशेष कार्यक्रम हुनेछन् ।
उक्त मेला अवधिभर करिब एक लाख अवलोकनकर्ताहरुको उपस्थिति हुने आयोजकले अपेक्षा गरेको छ ।